आयोजना बन्छन् तर स्थानीयका समस्या र पीडा उस्तै

रामेछाप र सोलुखुम्बुको सीमामा निर्मित दुगर्ड ग्रुपको जलविद्युत आयोजना समक्ष प्रभावित क्षेत्रका बासिन्दाले विभिन्न सात बुँदे माग राख्दै सोमबार ज्ञापनपत्र बुझाए । बर्षौ अघिदेखि निर्माण सम्पन्न गरी उत्पादन गरिरहेको आयोजनाले प्रभावित क्षेत्रका बासिन्दालाई मानवीय जोखिम र वातावरणीय असर पारेकाले ती समस्या सुल्झाउनु पर्ने स्थानीयवासीको माग थियोे । आयोजनाको प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड र सोलुखुम्बु को लिखुपिके गाउँपालिकाको स्थानीयहरुले आयोजनाले स्थानीय सेयर आईपिओ दिनुपर्ने, नुप्छे खोलमा निर्माण गरिएको जोखिमपूर्ण अस्थायी ड्याम्म स्थायी बनाउनुपर्ने, उत्तरकाँसी भनेर चिनिने उमातिर्थ मन्दिर वरपरको वातावरण सफा गरि संरक्षण र पुनःनिर्माण गर्नुपर्ने र आयोजनाले स्थानीयलाई प्रदान गर्ने सामाजिक उत्तरदायित्वको रकमको विवरण स्पस्ट रुपमा सार्वजनिक गर्नुपर्ने मागहरू राखेका छन् । त्यस्तै नदीमा सुख्खायाममा न्यूनतम १० प्रतिशत पानी र बर्षयाममा नियमित प्रवाह कायम गर्नुपर्ने, लिखु -१ र लिखु-२ को सुरुङ्गबाट पानी चुहावट रोकी बस्तीको उद्धार गर्नुपर्ने तथा अनधिकृत तरिकाले सानोतिनो खोल खोल्सीबाट अस्थायी पाइपबाट पानी मोड्ने काम तुरुन्तै रोक्नुपर्ने पनि मागमा उल्लेखित गरिएका छन् । आयोजना प्रभावित स्थानीयहरुको सक्रियतामा अन्य सम्बन्धित निकायलाई पनि उक्त ज्ञापनपत्र बुझाएका छन् । एमभी दुगर्ड ग्रुपले जलविद्युत आयोजना संचालन आएको लगभग तीन चार बर्ष नाघिसक्यो । तर त्यहाँका प्रभावित क्षेत्रका बासिन्दाले भोगेको समस्या अझै उस्तै छ । गत बैशाख ३ गते पनि काठमाडौं स्थित हाइड्रोपावरको केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाए पनि जनताका समस्याबारे सम्बन्धित निकाय मौन बनेको आयोजना प्रभावित स्थानीय संघर्ष समितिको संयोजक गेल्बु शेर्पा बताए । नागरिकका समस्याप्रति आयोजना बफादार हुन सकेनन् त्यसले गर्दा जनतामा आक्रोश बढ्ने गर्छ संयोजक शेर्पाले भने । आयोजना बनाउदा गरिएको वातावरण प्रभाव न्यूनीकरण ईआइए प्रतिवेदन देखाउने हात्तीको दाँत मात्र भएको तर व्यवहारमा त्यो कार्यन्वयन नगर्ने परिपाटीको कारण जनताको समस्या रही रहेको शेर्पाले बताए ।  शेर्पाका अनुसार ३५ दिने अल्टिमेटम सहित ज्ञापनपत्र बुझाएको र सो समयसीमा भित्र गुनासो सुनुवाइ नभएमा अझ कडा रुपमा प्रस्तुत हुने बताए ।