प्रतिपक्षीहरूले राजीनामा मागेकोमा प्रधानमन्त्री प्रचण्डको असन्तुष्टि

Prachanda class=

काठमाण्डाै – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो अभिव्यक्तिलाई लिएर प्रतिपक्षीहरूले राजीनामा मागेकोमा असन्तुष्टि व्यक्त गर्नुभएको छ । उहाँले प्रतिपक्षी दलहरूको हर्कत संसदीय अभ्यास र मान्यता विपरीत रहेको बताउनुभयो । आज साेमवार संसदमा आफ्नो अभिव्यक्तिमाथि उठेका प्रश्नकाे विषयमा जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले आफ्नो असन्तुष्टि राख्नुभएको हो । उहाँले पहिलेदेखि नै आफूले यो विषयमा स्पष्टीकरण दिन खोज्दा नपाएको बताउनुभयो । उहाँले आफ्नो राजीनामा माग्ने हक प्रतिपक्षी दलहरूसँग भए पनि तीन दिन संसद् अवरुद्ध गर्नु जायज नभएको बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले केही दिनअघि एक पुस्तक विमोचनमा दिनुभएको अभिव्यक्तिको विरोध गर्दै प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले सदन अवरुद्ध गर्दै आएको थियो । आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्ने भन्नु भएपछि बैठक सुरु गर्न दिने एमालेले जनाएको थियो ।