बारीको मकै पनि गयो, धान पनि समयमा रोप्न नपाएपछि किसानहरुमा चिन्ता

Radiokairan 96.4 Mhz Krisha Sunuwar रामेछाप । असार २४ गते, वातावरणिय परिवर्तनले केही वर्ष यतादेखि देश भरिनै वर्षा हुने क्रम घट्दै गएको छ । कम वर्षा हुने र भएको वर्षा पनि समयमा नहुने कारणले गर्दा कृषि क्षेत्र नराम्रोसँग प्रभावित भएको छ । कृषि प्रधान देश नेपालको पाहाडमा पाखो बारी रहेको छ । जहाँ किसनाहरुले खेतिको लागि आकाशको पानीकै भर पर्नु पर्दछ । तराईको धान हुने खेतका किसानहरुको समेत सिँचाईको मुख्य श्रोत आकाशबाट परेकै पानी हो । समयमा वर्षा हुन छाडेपछि किसनाहरुको खेति प्रभावित हुँदै आएको छ । रामेछाप वर्षाको हिसावले पनि कम वार्षा हुने क्षेत्रमा पर्दछ । रामेछापको सुनकोसी किनार तथा लिखु र तामाकोसी किनारको तल्लो भाग कम वर्षा हुने क्षेत्रमा पर्दछ । केही वर्ष यतादेखि यी क्षेत्रमा भिज्ने गरी पानी नपरेका कारण खानेपानीका मूल समेत सुकेका छन् । त्यसैले यस क्षेत्रका गाविसहरुलाई जिल्ला विकास समिति रामेछापले सुक्खा क्षेत्र घोषणा नै गरी सकेको छ । रामेछाप जिल्लाको यी क्षेत्रका किसानहरुलाई यस वर्ष पनि मौशमले साथ दिएको छैन । समयमा वर्षा नहुँदा किसानहरुले पाखो बारीमा लगाएको मकै काम नलाग्ने गरी डढेर गएको छ । “बारीका मकै पानी नपरेर सबै डढे । मकैका बोट सबै सुकेर बटारिएर गए । अब पानी परे पनि काम छैन । ती मकैका बोट फिरेर अब घोगा लाग्दैन”– किसानहरु गुनासो गर्छन् । जिल्लाको मन्थली, भलुवाजोर, भटौली, चिसापानी, पकरबास, रामेछाप, सुनारपानी, सुकाजोर, कठजोर, तिल्पुङ, भिरपानी, राकाथुम, हिमगंगा, रामपुर लगायतका गाविसका पाखोबारीमा लगाएका मकै डढेर गएका छन् । पछि मकै लगाउने किसानहरुको मकै पुरै नविग्रि सकेको भए पनि अगाडीनै मकै रोप्ने किसनाहरुको बाली डढेर गएको छ । मकै बालि विग्रिएर चिन्तित भएका किसानहरुलाई असार महिना पनि पानी नपरी गएपछि धान खेति पनि विग्रने चिन्ताले सताएको छ । असार महिना सकिदा पनि खोलानालामा मूलफुट्ने गरी पानी पर्न सकेको छैन । यसले गर्दा किसानहरुले धान रोप्न पाएका छैनन् । धान लगाई सक्नु पर्ने किसानहरुको खेत अहिले पनि बाँझै छ । समयमा नै धान लगाउन नपाउने हो भने धानको पनि उत्पादन घट्ने चिन्ताले किसानहरुलाई सताउनु लागेको छ ।